निषेधाज्ञा बढाउने नुवाकोट प्रशासनको अर्को पत्र, २ नगरपालिकासहित १० स्थानीय तहमा लागू



नुवाकोट साउन २७ । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञाको क्षेत्र पनि बढाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको साउन २३ को निर्णय अनुसार २४ गते मध्यरातदेखि जिल्लाका केही क्षेत्रमा जारी निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गर्दै संक्रमण देखिएका नयाँ क्षेत्रहरुमा समेत निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ ।

जिप्रकाको सूचनामा लेखिएको छ, ‘यस कार्यालयबाट मिति २०७७/४/२३ गते जारी निषेधाज्ञालाई निरन्तरता दिँदै देहायका क्षेत्रमा समेत स्थानीय प्रशासन ऐन २०२८ को दफा ३(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मिति २०७७/४/२६ गतेदेखि ८ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।’ आदेशको बर्खिलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने समेत जिप्रकाले चेतावनी दिएको छ ।

निषेधाज्ञा जारी हुने क्षेत्र :
१. दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण क्षेत्र
२. तादी गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का सम्पूर्ण क्षेत्र
३. तारकेश्वर गाउँपालिकाको वडा नं २, ४, ५ र ६ का सम्पूर्ण क्षेत्र
४. शिवपुरी गाउँपालिकाको बाँकी वडा नं १, २, ३, ४ र ५ का सम्पूर्ण क्षेत्र
५. पञ्‍चकन्या गाउँपालिकाको बाँकी वडा नं ४ र ५ का सम्पूर्ण क्षेत्र

२४ गते मध्य रातिदेखि लागू गरिएको निषेधाज्ञा :

नुवाकोटमा शनिबारदेखि १० दिने निषेधाज्ञा [के के गर्न पाइन्छ, के पाइँदैन ?]

१. विदुर नगरपालिकाका सम्पूर्ण क्षेत्र
२. लिखु गाउँपालिकाका सम्पूर्ण क्षेत्र
३. सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्र
४. बेलकोटगढी नगरपालिकाका वडा नं ५,७,८,१०,११,१२ र १३ का सम्पूर्ण क्षेत्र
५. पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र
६. शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र
७. ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र

जिल्लामा पछिल्लो निर्णयअनुसार २ नगरपालिका र ८ गाउँपालिकामा निषेधाज्ञा जारी भइसकेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा सोमबार साँझसम्म ६१ जना संक्रमित फेला परेका छन् । जसमध्ये ४० जनाले कोरोनालाई हराएर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

निषेधाज्ञामा के के गर्ने पाइने, के गर्न नपाइने विस्तृतमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्