डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ५ घाइते



डोटी साउन २७ । लगातार पानीका कारण डोटीमा घर भत्किँदा एकै परिवारका ४ को मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा स्थानीय लोगे लुहारको सोमबार राति साढे एक बजेतिर घर भत्किएको हो । मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । घाइते हुनेहरूमा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक छन् । उनीहरूलाई प्रहरी तथा स्थानीयले उद्धार गरी उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पठाइएको छ ।

भत्किएको घरमा दुई गोरु, एक गाई र दुई बाख्रासमेत च्यापिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्