पाल्पामा जिप दुर्घटना, दुईको मृत्यु, ६ जना घाइते



पाल्पा,साउन २८ । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुकी निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज २८८७ नम्बरको जीप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् ।मृत्यु हुनेमा निस्दी गाउँपालिका–५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी–४, मित्याल काफलका तीन महिने बालक रहेका छन् ।

त्यस्तै घाइते हुनेहरूमा निस्दी–५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु, ३७ वर्षीया तिलकुमारी सारु, निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।

जीप सडकदेखि करिब सात सय मिटर तल खसेको छ । दुर्घटनापछि चालक र सह–चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्