नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८८ पुग्यो



काठमाडौं साउन २८ । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यही साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यस्तै कोरोना संक्रमणबाट जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो ।

यस्तै ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी ७८ वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको र बुधबार बिहान ९ बजे रिपोर्ट पोजिटिभ आएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

उता सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्वको बुधबार राति मृत्यु भएको छ । यस्तै रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का ४२ वर्षीय पुरुषको बुधबार बिहान चार बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए । उनमा मंगलबारमात्रै कोरोना पुष्टि भएको थियो ।

योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्