डोटी बस दुर्घटना : मृतक तीनै जनाको सनाखत



काठमाडौं, साउन २८ ।

डोटीको पूर्वीचौकी गाउँपालिका १ खिरसैन, तल्लो फुलोटमा भएको बस दुर्घटनामा परी मुत्यु भएकाहरुको सनाखत भएको छ ।

मृत्यु हुनेमा मंगलसैन नगरपालिका ७ अछामकी ५५ वर्षीया धनी शाही, बान्नीगढी जयगढ गाउँपालिका ३ का ६० वर्षीय पदम साउँद र चौरपाटी गाउँपालिका ४ का बसका सहचालक टिकाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

बुधवार बिहान ५ः३० बजे दुर्घटनामा परी कैलाली गोदावरी नगरपालिका २ अत्तरिया घर भएका बसका चालक हेमबहादुर खत्रीसहित ३४ जना घाइते भएका छन् । घाइतेहरुको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमध्ये १२ जना गम्भीर भएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये सात जनालाई अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको अस्पतालका चिकित्सक डा प्रमोद भट्टले जानकारी दिए ।
भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गईरहेको ना ६ ख २५२९ नं। को बस बुधबार बिहान तल्लो फुलोट भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

बस सडकबाट करिब एक सय मिटर तल गएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र घटनावारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्