रुपन्देहीमा पूर्ण रूपमा लकडाउन



साझापथ संवाददाता रुपन्देही,साउन २८ ।

बुधबारदेखि रुपन्देहीमा लकडाउन गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिदै गएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय लिएको हो।

पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरूको भीडभाड र चहलपहल बढिरहेको छ । बजार खुल्ला हुँदा आममानिसले सामान्य सतर्कता पनि नअपनाएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको उनले बताइन् । लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै क्षेत्र ठप्प हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्