मकवानपुर र पर्सामा थप ७४ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा १० प्रहरी पनि



पर्सा र मकवानपुर साउन २९ । मकवानपुर र पर्सामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १० जना प्रहरी पनि छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षण थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना संक्रमित बारा परसौनीका हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले १२ जना महिलासहित थप ३७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार पर्साको छिपहरमाई गाउँपालिका–५ का दुई जनामा पनि कोरोना देखिएको छ । १२ जना संक्रमित वीरगन्ज महानगरपालिका–९ का स्थानीय हुन् । वीरगन्ज कारागारका पनि दुई जनामा कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेमा वीरगन्ज १० घडिअर्वाका तीन जना रहेका छन् । श्रीपुर नयाँ बस्ती र आदर्शनगरमा थप संक्रमित देखिएका छन् ।

यसैगरी बिहीबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा दस जना प्रहरीसहित ३७ जनामा कोरोना देखिएको हेटौंडा–४, कर्राको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १, १० का १ र १३ का १ गरी उपमहानगरभित्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका २, बकैया गाउँपालिका २, चितवन ठेगाना भएका १, काठमाडौं ठेगाना भएका १ र १० जना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्