माउन्टेन टेलिभिजन कालोसूचीमा

काठमाडौं साउन २९ । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । टेलिभिजनबाट २०७७ असार ३१ गते पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लक्षित गरी प्रशारित सामाग्रीमा प्रयोग भएका शब्दहरुको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ ।
तथ्यगत पुष्टि बेगर एकोहोरो, अशिष्ट एवं अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकुल असर पर्ने गरी सम्प्रेषित उक्त सामाग्रीमा प्रयोग भएका शब्दावलीहरु पत्रकार आचारसंहिता २०७३ पहिलो संशोधन, २०७६ प्रकिकुल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो भनी प्रश्न सोधिएकोमा चित्तबुझ्दो उत्तर नआएकोले कारबाही प्रक्रिया अगाडी बढाइएको काउन्सिलले जनाएको छ ।
साथै काउन्सिलले उक्त सामाग्रीको सन्दर्भमा क्षमायाचना सन्देश प्रशारण गर्न भनिएकोमा समेत टेलिभिजन मार्फत प्रशारण नगरी नक्कली फुटेज एडिट गरी उपलब्ध गराएको भन्दै काउन्सिललाई समेत झुठा विवरण पेस गरेको भएकाले पत्रकार आचारसंहिता २०७३ पहिलो संशोधन २०६७ को दफा ७ १ को ज बमोजिम कालोसूचीमा राखी थप कारवाही अगाडी बढाइने काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
