वाग्मती प्रदेशमा सबैभन्दा बढी आईसीयु र भेन्टिलेटर,कुन प्रदेशमा कति?



काठमाण्डौं,साउन ३० । पछिल्लो समय कोरोनासहित गम्भीर प्रकृतिका रोग उपचारार्थ देशभर आईसियु र भेन्टिलेटरको अभाव हुन सक्ने चिन्ता बढ्दै गएको छ । विशेषत: लक्षण सहितका कोरोना संक्रमित बढ्न थाले पछि आईसीयु र भेन्टिलेटरको संख्याबारे चासो बढेको हो ।

त्यतिमात्र नभई कोरोना बिशेष अस्पतालको अभाव समेत खड्किन थालेको स्वास्थ्य मन्त्रालयले नियमित पत्राकार सम्मेलनका क्रममा जानकारी दिएको छ ।

यसै क्रममा सरकारले कोरोना लक्षित गरेर तयार पारिएका भेन्टिलेटर र आईसीयुको संख्या सार्वजनिक गरेको छ । जस अन्तर्गत देशभर कुल ९ सय ४२ आईसीयु रहेको छ भने ४ सय ९६ भेन्टिलेटर रहेको छ । यसमध्ये सबै भन्दा धेरै बागमति प्रदेशमा रहेको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार प्रदेश १ मा ४३ आईसीयु रहेको छ भने १९ वटा भेन्टिलेटर रहेको छ। यस्तै प्रदेश २ मा ४५ वटा आईसीयु र १७ वटा भेन्टिलेटर रहेको छ ।

प्रदेश ३ मा ६ सय ३० आईसीयु र ३ सय ६१ भेन्टिलेटर रहेको छ । यो अन्य प्रदेशको तुलनामा ज्यादा हो। यद्यपि विभिन्न कारण बिरामीको चाप यस प्रदेशमा बढी हुने बताइएको छ।

गण्डकी प्रदेशमा एक सय ३७ आईसीयु रहेको छ भने ५९ वटा भेन्टिलेटर रहेको छ । प्रदेश नं ५ मा २९ आईसीयु रहेको छ भने १३ वटा भेन्टिलेटर रहेको छ ।

कर्णाली प्रदेशमा ४० वटा आईसीयु रहेको छ भने १७ वटा भेन्टिलेटर रहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशमा १८ वटा आईसीयु र १० वटा मात्रै भेन्टिलेटर रहेको छ ।

भेन्टिलेटर, आईसीयु सहितको व्यवस्थित कोरोना अस्पताल अझै थप्नु पर्ने चिन्ता सरोकारवालाहरुले व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्