सिन्धुपाल्चोकमा भीषण पहिरो, जुगलका १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन



साझापथ संवाददाता

सिन्धुपाल्चोक,साउन ३० । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर गएको पहिरोमा १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा आएर बसेका छन् ।

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

स्थानीय उद्धार गर्न जानसक्ने अवस्था नभएको प्रहरी श्रोतले जानकारी दिएको छ । नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घटनास्थल पुग्न समय लाग्ने बताए ।

सदरमुकाम चौताराबाट कात्तिके भन्ने स्थानसम्म ३ घण्टा गाडीमा गएपछि त्यहाँबाट थप ३ घण्टाको हिंडाईपछि मात्रै घटनास्थल पुग्न सकिन्छ ।

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली हेलिकप्टरबाट घटनास्थल जाँदै गरेको खबर छ ।

उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको छ। क्षतिको विवरण आउन समय लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्