कुखुराको मूल्य घटेपछि दाङका किसान आन्दोलित



साझापथ संवाददाता

दाङ,साउन ३० । ब्रोईलर कुखुराको मूल्य घटेपछि दाङस्थित देउखुरीका किसान आन्दोलित बनेका छन् । देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य घटाएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।

समुहमा नेतृत्व पँक्तिमा रहेका सिमित ब्यक्तिको खोरमा कुखुरा नभएको भन्दै मुल्य घटाएको कुखुरा पालकहरुले आरोप लगाएका छन् ।

देउखुरी कुखुरा पालक समुहले बुधबार ब्रोईलर कुखुराको मूल्य प्रति किलो २ सय रुपैया तोकेको छ । यस अघि कुखुराको मूल्य प्रति किलो २ सय ४० रुपैया रहेको थियो ।

गएको करिब १ हप्तामा किसानको कुनै पिर मर्का नै नबुझी समुहले किलोमा ८० रुपैया सम्म घटाएको विहिबार १४ जना कुखुरा पालक कृषक हरुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । कृषकको पिरमर्का नबुझी २/४ जनाले गरेको एकल निर्णय आफुहरुलाई मान्य नहुने भन्दै कृषकहरुले यस्तो निर्णयको घोर भत्सर्ना समेत गरेका छन ।

‘तोकिएको मुल्यमा कुखुरा बिक्रि गर्दा खर्च लागत नै उठ्दैन लमही-३ निवासी कृषक अमृत वलीले भने-कुखुरा पालकको हकहितमा काम गर्ने समुहले उल्टै किसानलाई डुबाउँदैछ ।’ वलीको कुखुरा फर्ममा अहिले करिब ६ सय बढी कुखुरा बिक्रि गर्ने अबस्थामा छन । यही समयमा समुहले मुल्य घटाएको प्रति उनले गुणासो पोखे । ‘जिविको पार्जनका लागि जसोतसो चल्ला हालियो, लकडाउनले दानाको मुल्यपनि बृद्दी भयो कृषक वलीले भने-जसोतसो कुखुरा हुर्काइयो, अब बिक्री गरौँ भन्दा मूल्य घट्यो, लगानी कसरी उठाउँ?’

गढवा-६ का दयाराम थापाको खोरमा पनि ५ सय कुखुरा तयारी अबस्थामा छन् । समुहले मुल्य घटाएपछि लागत मुल्यपनि उठाउन हम्य हम्य पर्ने भन्दै उनले चिन्ता ब्यक्त गरे । उनिजस्तै लमही-४ मा मण्डल चौधरीको खोरमा पनि २५ सय कुखुरा छन् । यतिधेरै कुखुरा मुल्यबिना अब कसरी बिक्रि गर्नु भन्दै उनले चिन्ता ब्यक्त गरे । सधै कुखुराको मूल्य घट्ने, दाना र अौषधी उपचारको मूल्य नघट्ने?चौधरीले आक्रोश पोखे। लकडाउनको समयमा कुखुराको दाना क्विन्टलको ६ हजार ४ सय रुपैया सम्म तिरेको कृषक हरु बताउँछन । तर बजारमा उच्च स्तरको दानाको वास्तविक मूल्य ५ हजार ९ सय ५० रुपैया पर्छ ।कुखुरा पालक कृषकहरुले यो भन्दा अघिको प्रतिकिलो २ सय ४० रुपैया यथावत रहनुपर्ने बिज्ञप्ती मार्फत माग गरेका छन । शुक्रबार सम्म माग पूरा नभए अझ शसक्त रुपमा आन्दोलन चर्काईने उनिहरुको भनाई छ ।

उता देउखुरी कुखुरा पालक समूहका अध्यक्ष अर्जुन अधिकारीले आधिकारिक बैठक बसी मूल्य समायोजन गरेको जानकारी दिए । अहिलेको अबस्थामा भिडभाड रहित अनलाईन बैठक बसि निर्णय गरिएको उनको भनाई छ । मूल्य बृद्दीले बिचौलिया लाई फाईदा हुने र किसानले वास्तविक मूल्य नपाउने भन्दै किसानकै हकहितका लागि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए । ‘यहाँ बिचौलियाको बिगबिगी छ, वास्तविक किसानले वास्तविक मुल्य कहिल्यै पाउनुहुन्न अध्यक्ष अधिकारीले भने-यो निर्णय किसानकै हकहितका लागि छ, वास्तविक मुल्य पाउनका लागि यस्तो निर्णय गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्