नुवाकोटको पञ्‍चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य



घलेभन्ज्याङ साउन ३० । नुवाकोटको पञ्‍चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ ।

गाउँपालिकाले शुक्रबार अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लाबाहिरबाट प्रवेश गर्न चाहने नागरिकहरुले अनिवार्य रुपमा पछिल्लो ३ दिनको पीसीआर रिपोर्ट नेगेटिभ भएको देखाएरमात्र प्रवेश पाउने नियम लागू गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि यसअघि नै जिल्ला प्रशासन कार्यालयले उक्त पालिकाका सम्पूर्ण क्षेत्रलाई निषेधाज्ञा तोकिइसकेको छ ।

बढ्दै गएको कोभिडका कारण बाहिरको जिल्लाहरुबाट विभिन्न नाका हुँदै प्रवेश हुने नागरिकबाट पालिकामा थप संकट निम्तने भन्दै गाउँ कार्यपालिकाको साउन २९ गते बिहीबार बसेको बैठकले नुवाकोट जिल्लाभन्दा बाहिरबाट प्रवेश गर्न चाहने सम्पूर्ण नागरिकहरुले पछिल्लो ३ दिनभित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र पालिका प्रवेश गर्न पाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले निकालेको सूचनामा उल्लेख छ ।

गाउँपालिकाको निर्णय बमोजिम सबै नाकामा कडाइका साथ चेक गरिदिन सम्पूर्ण सुरक्षाकर्मीहरुलाई समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्