सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको शव भेटियो



सिन्धुपाल्चोक साउन ३० ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ।

बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव भेटिएको हो । बेपत्ता भएका भनिएका ३८ जनामध्ये २७ जना अझै बेपत्ता नै छन् । उनीहरुको खोजी कार्य जारी राखिएको छ। पहिरोले ३७ घर पुरिएका हुन्।

बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय खटिएका छन्। शव भेटिएका ११ जनाको सनाखत भने हुन सकेको छैन। पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौंको सिभिल अस्पताल ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्