झोरमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि वडाध्यक्ष अधिकारीको सक्रियतामा अनुगमन

काठमाडौं,साउन ३१ । कोरोना महामारीका बीच पछिल्लो दिन यता टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरको झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेपछि टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीको सक्रियतामा सो क्षेत्रमा नियमित अनुगमन भएको छ । राजधानी काठमाडौंको मुख्य शहरी क्षेत्रमा पछिल्लो दिनयता संक्रमित संख्या वृद्धि भैरहेकाले यसप्रकारको आन्तरिक पर्यटक आवागमनले यस क्षेत्रमा समेत जोखिम बढेकाले आवतजावतमा कडाइ गरिएको अध्यक्ष अधिकारीले साझपथलाई बताए ।

अध्यक्ष अधिकारीका अनुसार झरना क्षेत्रमा यसअघि नै आवागमन बन्दको सूचना प्रकाशित गरिएको थियो यद्यपि राजधानीको नजिक तथा सवारी सुविधाका पहुँचमा यस क्षेत्र रहेकाले पर्यटक भित्रिन नछाडेको बताइएको छ ।
टोखा नगरका मेयर प्रकाश अधिकारीले कोरोना महामारीका यस भयावह परिस्थितिमा पुलिस प्रशासन लगाएर भएपनि झरना क्षेत्रमा आवागमन रोक्न लगाएको बताए। तर पछिल्लो दिन यता प्रशासनको आँखा छल्दै आगन्तुकहरु विभिन्न बाटो प्रयोग गर्दै आइरहेको स्थानीयले बताएका छन् ।

टोखा नगरपालिका वडा नम्बर १ ले बाैडेश्वर लगायतका ठाँउमा भिडभाड नगर्न वा हुन नदिने,माक्स अनिवार्य प्रयाेग गर्न, सकभर सम्भव भए सम्म भेटघाट कम गर्ने,फाेन लगायत अन्य माध्यामबाट काम चलाउन ,पसल तथा चोकमा अनावश्यक ननिस्कने ,सावुन पानिले हात धुने ,सेनेटाईजरकाे प्रयाेग गर्ने यसअघि नै बारम्बार सूचना प्रकाशित वा प्रसारित गरेको थियो ।

तर कोरोना महामारीका समयमा यसको पालना नभएकाले आफू स्वयं ठाउँ ठाउँमा खटिदै आएको वडा अध्यक्ष अधिकारीले बताए।
काठमाडौंमा शुक्रबार मात्रै ११९ संक्रमित थपिएका छन्। योसहितकाठमाडौं उपत्यकामा १ हजार ७ सय संक्रमित संख्या पुगेको छ। संक्रमितमध्ये काठमाडौंमा १३६३, ललितपुरमा २२१ र भक्तपुरमा ११६ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

