सिन्धुपाल्चोकमा भदौ १ देखि निषेधाज्ञाको निर्णय



साझापथ संवाददाता

सिन्धुपाल्चोक,साउन ३१। कोरोना भाइरसको संक्रमण फैलन नदिन सिन्धुपाल्चोकमा भदौ १ गतेबाट जिल्ला आवातजावतमा निषेधाज्ञा गर्ने निर्णय भएको छ । शनिबार  बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाउनुका साथै सरकारद्वारा  जारी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ । निर्णय अनुसार भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

सो अवधिमा होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । बैंक, गैर सरकारी कार्यालयको हकमा भने आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने समेत निर्णय भएको छ ।

निषेधाज्ञाको समयमा सबै नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् ।
अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।

जिल्लाका केही स्थानीय तहमा समेत कोरोना संक्रमण पाइएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्