कन्ट्याक्ट ट्रेसिङमा कठिनाई,लापरबाहीले कोरोना फैलिँदै



काठमाडौं,साउन ३२ । पछिल्लो समय स्वाब परीक्षण गर्न चाहनेको संख्या वृद्धि भएको छ। स्वाब परीक्षण गराउनुको अर्थ आफैंलाई कोरोना संक्रमण छ कि भनेर सशंकित हुनु हो ।

यसर्थ परीक्षणको नतिजा नआउन्जेल सम्बन्धित व्यक्तिले कम्तीमा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ तर, अवस्था ठीक उल्टो छ । स्वाब दिएर परिणाम नआउञ्जेल भेटघाटमा रमाउने धेरै छन् । नतिजा पोजेटिभ आउनेले त्यहीबीच थुप्रैलाई सारिसकेका हुन्छन् ।

‘स्वाब दिएर नतिजा नआउँदै एक जनाले त १३ सय जनालाई भेटिसक्नुभएको रहेछ’, सम्पादकहरूसँगको अन्तरक्रियामा हालै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसबारे दुःखेसो गरे, ‘ती मान्छे खोज्दाको हैरान भयो । कम्तीमा घरमै बसिदिएको भए राज्यको साधन, स्रोत र शक्ति जोगिन्थ्यो। यस्ता घटना धेरै छन् ।’

कोरोना पोजेटिभ पुष्टि भएकाहरूलाई सरकारले दिनहुँ खोजी गर्छ । तर, संक्रमितहरू नै लुक्ने वा ढाँट्ने क्रम पनि उत्तिकै छ । त्यसले सबैको कन्ट्याक्ट ट्रेसिङ जटिल बन्दै गएको छ । संक्रमणको जोखिम झन्झन् बढेको छ । संक्रमित पुुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको खोजी गर्नु नै कन्ट्याक्ट ट्रेसिङ हो ।

दिनहुँ झन्डै ६ सय संक्रमित पुष्टि हुन थालेका छन् । संक्रमणको पुष्टि भएकामध्ये कतिपयले मोबाइल बन्द गरेका छन् । कतिपयले गलत नम्बर लेखेका र कतिपयले फोन उठाए पनि आफ्नो परिवारका कसैले पनि स्वाब परीक्षण नगरेको बताउने गरेको ट्रेसिङमा संलग्न एक स्वास्थ्य अधिकारीले जानकारी दिए ।

संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको खोजबिनका लागि अहिले हरेक गाउँपालिकामा १, नगरपालिकामा २, उपमहानगरपालिकामा ३, महानगरपालिकामा ५ टिम बनाइएको छ । तैपनि त्यस्ता व्यक्ति सम्पर्कमा आउन हिचकिचाउँछन् वा खेलाँची गर्छन् ।

संक्रमितको संख्या वृद्धि भएपछि स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरूलाई २० प्रतिशत बेड छुट्ट्याउन निर्देशन दिएको छ। तैपनि संक्रमितहरू बेपत्ता छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्