कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका एक जनाको मृत्यु



वीरगञ्ज साउन ३२ ।

कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एकजनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका १३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । साउन १९ गते नारायणी अस्तालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको थियो ।

झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले डिस्चार्जको बेलामा नै चिकित्सकले उनलाई थप उपचारका लागि अन्य अस्पताल भर्ना गर्न सुझाव दिएका थिए । त्यसपछि उनका आफन्तले उनलाई नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति नै साढे ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्