नेकपा सचिवालय बैठकबाट कार्यदललाई अनुमोदन



काठमाडौं भदौ १ । करिब महिना दिनपछि नेकपाको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

सोमबार बिहान साढे ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कार्यदललाई बधाई ज्ञापन र अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षहरुले कार्यदलको बारेमा बैठकमा जानकारी गराएका थिए ।

कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र फेरि बैठक बस्ने गरी सोमबारको बैठक सकिएको हो ।

यसअघि साउन ४ गतेदेखि नेकपा सचिवालय बैठक बसेको थियो । पार्टीमा देखिएको आन्तरिक किचलो मिलाउन अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला सोमबार सचिवालय बैठक बोलाइएको हो । दुई अध्यक्षबीच साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

महासचिव पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । नेकपाको साउन ४ गते पछि सोमबार सचिवालय बैठक बसेको हो ।

सरकार र पार्टीमा प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्री एवं अध्यक्ष एवं चुकेको र प्रधानमन्त्री वा अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने पक्षमा प्रचण्ड, नेपाल र खनाल समूहको मत छ । तर ओलीले महाधिवेशनअघि नहट्ने अडान लिइरहेका छन् । जसकारण नेकपाभित्र पदीय भागबन्डामा लडाइँ चलिरहेको छ ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा पार्टीभित्र शक्ति बाँडफाँट र सरकार र पार्टीबीच समन्वय नभएको भन्दै विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्