सिन्धुपाल्चोक र हेटौंडामा निषेधाज्ञा र भरतपुर अस्पतालमा सेवा कटौती



काठमाडौं १ भदौ । कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोक र हेटौंडामा निषेधाज्ञा र भरतपुर अस्पतालमा सेवा कटौती गरिएको छ ।

सिन्धुपाल्चोकमा सोमबारदेखि गरिएको बन्दाबन्दीका कारण जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएको छ । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने जनाउँदै आइतबार राति १२ बजेदेखि लागु हुने गरी यहाँ एक सातासम्म लकडाउन गरिएको हो ।

शनिबार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि एक सातासम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको थियो । यस अवधिमा कुनै व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम,, प्रदर्शन, शैलुन र खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालयमा आवश्यक सेवा भने बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो ।

त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै हेटाँैडा उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ ।

कोरोना उपचार गर्ने भरतपुर अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो ।

यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्