बारामा माछा मार्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा १३ राउन्ड हवाई फायर



बारा भदौ १ ।

बारामा दुई समूहबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ । त्यसैगरी प्रहरीले ६ राउन्ड अश्रुग्यास पनि प्रहार गरेको छ ।

जिल्लाको पैनीमा माछा मार्ने विषयमा दुई गाउँका युवाबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रयोग गर्नुपरेको घटनास्थलमा भएका जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बारा जिल्लाको पटेवा र भगवानपुर गाउँका युवाबीच भएको झडपलाई नियन्त्रणमा लिन बारा प्रहरीले १३ राउन्ड हवाई फायर र ६ राउन्ड अश्रुग्यास प्रयोग गरेको उनले बताए ।

एक–अर्का समूहले ढुंगामुढा गर्न थालेपछि दुवै गाउँबाट ठूलो संख्यामा मान्छे आएका थिए । भिड बढेसँगै झडपले उग्र रूप लिएको थियो । सामान्य बल प्रयोगबाट स्थिति नियन्त्रणमा नआएपिछ हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । गाउँलेतर्फ नौजना घाइते भएका छन् भने चारजना प्रहरी पनि सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्