लिदी पहिरो पीडितलाई चौतारा साँगाचोकगढी नगरपालिकाको २ लाख सहयोग



साझा पथ संवाददाता
सिन्धुपाल्चोक १ भदौ । चौतारा साँगाचोकगढी नगरपालिकाले जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुलाई २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिङ तामाङले पीडाको यो समयमा सबै स्थानीय सरकार एकजुट भइ एकै ठाउँमा रहेको सन्देशका लागि थोरै भए पनि सहयोग प्रदान गर्ने निर्णय भएको जानकारी दिए । यसअघि बाढीपहिरोको ठूलो क्षति ब्यहोरेको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाँउपालिकालाई पनि चौताराले ५ लाख सहयोग उपलब्ध गराएको थियो ।

गत शुक्रबार बिहान लिदीमा गएको पहिरामा बेपत्ता ३९ जनामध्ये सोमबारसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । पहिरो जाँदा ३८ घर पुरिएका थिए ।

सिन्धुपाल्चोक अहिले बाढीपहिरोको चपेटामा छ, सबै स्थानीय सरकार यतिबेला प्रभावित भएका छन् । ‘यति ठूलो विपत्तिमा यो रकम थोरै हो, तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौं भन्ने अनुभूति गराउनका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौं’ मेयर तामाङले भने ।

भूकम्पपछि कमजोर भु बनोट भएको सिन्धुपाल्चोकका पहाडी बस्तीहरुमा वर्षेनी यस्ता विपत्तिबाट धेरै जनधनको क्षति भइरहेको छ ।
त्यस्तै, गत असार २४ र २६ गते आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका–५ जम्बुको बस्ती बगाउँदा १६ बेपत्ता भएका थिए भने दुईको मृत्यु भएको थियो । वेपत्ताहरु अझै भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्