पश्चिम नवलपरासी काङ्ग्रेसका जिल्ला उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन



नवलपरासी,भदौ २ । कोरोना संक्रमित नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका जिल्लाका उपसभापति सुवासचन्द्र गिरीको उपचारको क्रममा मङ्गलबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको छ ।

सुरुमा उनि मेडिकल कलेज भैरहवामा पित्त थैलीमा रहेको स्टोनको अपरेशन गराउन अस्पताल भर्ना भएका थिए । भर्ना पछि अपरेशन गरिएको र केहि दिन अस्पतालमै रहेका उनको कोरोना परीक्षण गरिएको थियो । परिक्षण पश्चात् उनको रिपोर्ट पोजिटिभ देखियो ।

कोरोनाको रिपोर्ट पोजेटिभ र कोरोनासङ्ग मिल्दोजुल्दो लक्षण देखिएको र श्वासप्रश्वासमा समेत केही समस्या देखिएपछि उनलाई लगत्तै बुटवलको कोरोना अस्पतालमा रिफर गरिएको थियो । निमोनियाको लक्षणसमेत देखिएका बिरामीको अवस्था कोरोना अस्पतालमा समेत सुधार हुने नदेखेपछि उनलाई गत साउन ३० गते ललितपुरको पाटन अस्पतालमा थप उपचारको लागि पुर्याइएको थियो ।

पाटन अस्पतालमा उपचाररत उनको अवस्था सुधारिदै गएको पनि थियो । २ दिन अघि मात्रै पनि उनले अस्पतालको बेडबाटै “म पाटन अस्पतालमा आइसियु बेडमा छु” भनि आफैले म्यासेजमार्फत कोहि व्यक्तिलाई पठाएको भिडियो संदेश सामाजिक सञ्जालमा बाहिरिएको थियो । पाटन अस्पतालमा उनलाई अक्सिजनको सहारामा उपचार गरिएको थियो । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद देबेन्द्रराज कंडेलका अनुसार उपचारकै क्रममा आइतबार राति देखि उनको स्वास्थ्यमा थप समस्या बढेपछि सोमवार दिउसोबाट भेन्टिलेटरको सहायतामा उपचार अघि बढाइएको र हिजो राति ११ बजेबाट स्वास्थ्यमा सुधार पनि हुँदै गएको थियो । तर आज बिहान ६ बजे तिर मुटुले एक्कासि काम गर्न छाडेपछि तत्कालै उनको मृत्यु भएको हो ।

कंडेलका अनुसार मृतक गिरिलाई आज साझ ५ बजे अस्पतालबाट निकालि उनका भाई सन्तोष गिरिले श्रद्धाञ्जली अर्पण गर्ने र त्यसपछि नेपालआर्मीले पशुपति आर्यघाटमा पुर्याइ अन्तिम श्रद्धाञ्जली स्वरुप सलामि अर्पण गरि इलोक्ट्रोनिक सबगृहमा उनको अन्त्यष्टि गर्ने छ ।

काङ्ग्रेस नेता कंडेलले गिरिको निधनले आफु र पार्टी दुखित भएको बताउदै उनले भने “एक सफल व्यवसायी, असल राजनीतिज्ञ तथा सामाजिक व्यक्तिको निधनले सिङ्गो पार्टीलाई नै क्षति भएको छ, काङ्ग्रेस पार्टीमा मात्र नभएर सबै पार्टी र व्यक्तिसङ्ग मिल्नसक्ने क्षमताका उनले पार्टीलाई पुर्याएको योगदान सधैं सम्झिरहने छौं” । साथै नवलपरासी जिल्लाले एक असल नेतृत्व गुमाएको समेत कंडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्