काठमाडौमा निषेधाज्ञाको तयारी



काठमाडौं,भदौ २ । कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ ।

त्यसका लागि उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन । अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेध लागू गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डले बताइन । यस विषयमा सरकारले पनि छलफल गरिरहेको उनको भनाइ छ ।

अहिले देशका ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तर कोरोना संक्रमणको उच्च जोखिमकै क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा भने अझै प्रतिबन्ध लगाइएको छैन । यता संक्रमण बढेसँगै उपत्यकाका यातायात कार्यालयहरूले दिने सबै सेवा बन्द गरेका छन् । कार्यालयहरूले सूचना जारी गर्दै आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् । असार १ देखि सरकारले लकडाउन केही खुकुलो बनाएसँगै यातायात कार्यालयहरूले सेवा सुरू गरेका थिए ।

उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पुनः भिडभाड हुने कार्यालयको सेवा स्थगन गर्न भनेको थियो । मन्त्रिपरिषद्को साउन २६ को बैठकको निर्णय अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको कार्यालयहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्