नुवाकोटको भद्रुटारमा पहिरो, पाँच घर विस्थापित, बस्ती नै जोखिममा



विस्थापित घर तस्बिर: प्रकाश लामा / साझापथ

प्रकाश लामा

नुवाकोट,भदौ २ । अविरल वर्षाका कारण पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा पहिरो गएको छ । साविक भद्रुटार र महाकालीको सिमानामा सोमबार राति पहिरो जाँदा स्थानीय पाँच घर परिवार विस्थापितमा भएका हुन् ।

स्थानीय समाजसेवी तथा राजनीतिज्ञ रघुवीर तामाङका अनुसार गाउँका ठाउँ ठाउँमा चिरिएका छन् । तामाङका अनुसार सोमबार राति परेको वर्षाले थप जोखिम निम्त्याएको छ ।

वर्षाका कारण देउराली टोल, जोगीमारा टोल लगायत आसपासको बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्दै मंगलबार पञ्चकन्या गाउँपालिकामा समेत स्थानीयले सुरक्षित वासस्थानका लागि निवेदन पेश गरेका छन् ।

जमिन ठाउँ ठाउँमा चिरा परेर स्थानीय अर्जुन तामाङ, अनिल तामाङ, सोम तामाङ (भरत), बिनेस तामाङ लागायतको घर विस्थापितमा परेको स्थानीय बिमला लामाले बताए । गाउँपालीकाले भने पहिरोको बारेमा जानकारी पाइसकेको र अवरुद्ध घलेगाउँ जोड्ने सडक समेतको अनुगमनका लागि स्थानीय प्रशासन ,प्रहरी र इन्जिनियर टोली बुधबार त्यस क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने गाउँपालिकाका अध्यक्ष रमेश तामाङले जानकारी दिएका छन् ।

पहिरो पीडित अर्जुन तामाङका अनुसार पहिरोका कारण जोखिममा रहेका घरका मानिस सुरक्षित स्थानमा सारिएको छ।

उक्त बस्तीमा जथाभावी सडक ट्रयाक खोल्नाले पनि पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् । बाटो निर्माणमा लापरबाही पूर्ण तरिकाले खन्ने र अलपत्र छाड्ने अवस्थाले पहिरोको जोखिम बढेको हो । निर्माण व्यवसायीहरुले बजेट बचत गर्ने हिसाबले सडक विस्तारका क्रममा छेउको भाग नउठाउने र कुना चेपेर विस्तार गरिँदा समस्या झन् निम्तिएको हो ।

सो पहिरो जोखिम क्षेत्र देउरालीकी चिनीमाया तामाङले घरमाथि र मुन्तिर पहिरोको जोखिम रहेको भन्दै कतै सरि जान समेत ठाउँ नभएको दुखेसो गरिन् । उनले भदौभर पहिरो र भलको डर रहने बताइन् ।

प्रतिक्रिया दिनुहोस्