पञ्‍चकन्याको मानेथोकमा चट्याङ, दुई जना घाइते, बिजुली वाइरिङ ध्वस्त



घलेभन्ज्याङ,भदौ २। नुवाकोट जिल्ला पञ्‍चकन्या गाउँपालिका वडा नं ३ को मानेथोकमा मंगलबार दिउँसो चट्याङ पर्दा दुई जना घाइते भएका छन् । चट्याङबाट स्थानीय शंकरप्रसाद भण्डारीको घरमा जडान गरिएको मिटर बक्ससहित शाखा पोलेदेखिको केबल तार घरमा वाइरिङ लगायत बत्ति र विद्युतीय सामान लगायतमा क्षति पुगेको छ ।

वडा नं ३ कार्यालयका सचिव केदार खनालले अन्य २/३ घरमा विद्युतीय सामानमा क्षति पुगेको जानकारी दिए । ‘मिति २०७७/५/२ गते परेको चट्कनेले पन्चकन्या गाउँ पालिका वडा न. ३ मनेथोकमा शकरप्रसाद भण्डारीको घरमा जडान गरिएको विद्युतको मिटरसहित शाखा पोलदेखिको केबल तार घरमा वाईरिङ लगायत बत्ती र विधुतीय सामान पूर्ण रुपमा क्षति हुनुका साथै नमराज मिश्र र रामहरि पन्डितलाई सामन्य चोट र घर नजिकैको केराको बोट चिराफारा । र गाउँका २/३ घरमा विधुतीय सामानमा क्षति ।’

वाग्मती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ । नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार अहिले वाग्मती प्रदेशको उपत्यका तथा नुवाकोट, धादिङ, मकवानपुरमा मेघ गर्जनसहित वर्षा भइरहेको छ भने त्यसभन्दा पश्चिमका भूभागमा हल्का वर्षा भइरहेको नगरकोटीले बताए ।

कहिलेकाहीँ मुलुकको कुनै भागमा मेघ गर्जनसहित चट्याङ गराउने बादल विकसित हुने गर्छ । यसअघि पहिले नै जमिन गलिसकेकाले बाढी पहिरोको जोखिम हुने भन्दै सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । यसपटक मनसुन सक्रिय भएपछि पहिरोका ठूला घटना भएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेश तथा आसपासका भू भागका एक दुई स्थानमा वर्षा भएको छ ।

देशका केही स्थारुमा मेघगर्जन र चट्याङहित हल्कादेखि मध्यम वर्षाको हुने र उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्