आज मोतीराम भट्टको १५४ औं जन्म जयन्ती



काठमाडौं,भदौ ३ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती। सो अवसरमा देशभर  विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । यद्यपि कोरोना महामारीका कारण यस वर्ष भने औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेका मोतीराम विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । तीस वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनै भट्टले नै पाएका छन् ।

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए । भानुभक्तलाई चर्चामा ल्याउने काम उनले गरेका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए । नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे ।

‘जता हेर्यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उनका गजलका नमूना हुन् ।

प्रतिक्रिया दिनुहोस्