कोरोना संक्रमण : सेरोलजिकल टेस्टको तयारी



काठमाडौं भदौ ३ ।

देशभरी कोरोना संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ ।

पछिल्लो केही सातायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो ।

संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए। कहिलेबाट परीक्षण शुरु गर्ने भन्ने तय नभएपनि देशभरी नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए।

कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने उक्त विधि कोरोना संक्रमणको जोखिम कति भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो । ९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले बताए। परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले र अहिले छ की छैन भन्ने कुरा यसले पत्ता लगाउँने डा.पाण्डेले बताए।

संक्रमणको अवस्था बढ्दै गएको सन्दर्भमा सर्वसाधारणलाई सतर्कता अपनाउन उनले आग्रह गरे। रोगसँग डराएर सधै लकडाउन गरिराख्न नमिल्ने उल्लेख गर्दै उनले समुदायस्तरमा सचेतना अपनाउँदै कसरी जीवनयापन गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्