नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थप



काठमाडौं भदौ ३ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ ।

प्रविधिको जुम वेविनार माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्‍लारप्रतिष्ठानरएसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।

महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदैछ । तर कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गरिएको महासचिव रमेश विष्टले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

महासंघले आउँदो फागुन ३ गते केन्द्र प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णय पनि गरेको छ । त्यसअघि आउँदो मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।

कोरोना महाव्याधीका कारण यो कार्यतालिका कार्यान्वयनमा जटिलता भएमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अधिकार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय पनि बुधबारको भेलाले गरेको छ ।

महासंघले कोरोना महाव्याधीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले आर्थिक अभाव झेल्नुपरेको भन्दै २०७७ सालको सदस्यता शुल्क छुट दिएको छ ।

महासंघले कोरोना महाव्याधीका कारण आर्थिक अभाव झेलिरहेका सञ्चारमाध्यम र श्रमजीवी पत्रकारका लागि उचित राहतका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुसँग माग गरेको छ ।

सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने सिलसिला कायम रहेको भन्दै महासंघको बुधबारको भेलाले आउँदो पुसमा पुसमा केन्द्र, प्रदेश र शाखाहरुमार्फत सशक्त दबाबमूलक अभियान सञ्चालन गर्ने र कानूनी संघर्षलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अग्रभागमा रहेर सञ्चारकर्ममा रहेकै कारण सञ्चारकर्मीहरु कोरोना संक्रमण भएकामा चिन्ता व्यक्त गर्दै महासंघले उचित उपचारको प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ । महासंघले कर्म क्षेत्रमा खटिने श्रमजीवी पत्रकारलाई सम्भव भएसम्म घरबाटै काम गर्न वा कार्यालय वा फिल्डमा खटिदा प्रर्याप्त स्वास्थ्य सावधानी अपनाउन आहृवान पनि गरेको छ ।

महासंघले स्वास्थ्य सुरक्षाको जोखिमलाई मोलेर अग्रभागमा काम गर्ने सबै पत्रकारहरुको पीसीआर परीक्षण र संक्रमितहरुको उचित उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्