कोरोना संक्रमित प्रदेश उपसभामुख तामाङसँग मन्त्री दुलालको भेट



मकवानपुर ३ भदौ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले कोरोना संक्रमित उपसभामुख राधिका तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

कोभिड १९ रिपोर्ट पोजिटिभ देखिएपछि होम आइसोलेसनमा रहेकी उपसभामुख तामाङ र उनका छोरालाई बुधबार भेटेर मन्त्री दुलालले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उपसभामुख तामाङलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री दुलालले बुधबार उपसभामुख तामाङलाई भेटेर स्वास्थ्य अवस्था बुझेको नेकपाका युवा नेता डीबी तामाङले जानकारी दिए ।

काठमाडौंमा एक बैठकका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत बुधबार पीसीआर जाँचका लागि उपसभामुख तामाङसहित परिवार र सचिवालयका ६ जनाको हेटौंडामा स्वाब संकलन गरिएको थियो । बिहीबार रिपोर्ट आउँदा उपसभामुख र छोराको शंकास्पद र अन्यको रिपोर्ट नेगेटिभ आएको थियो । फेरि शुक्रबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा आइतबार रिपोर्ट कोरोना पोजिटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्