सिन्धुपाल्चोक लिदी पहिरोमा बेपत्ता ३ शव फेला, मृतकको संख्या २८ पुग्यो, ११ अझै बेपत्ता



सिन्धुपाल्चोक ४ भदौ । जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ ।

एक बालक र दुई महिलाको बिहीबार शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् ।

यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । गत शुक्रबार बिहान पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । एक्स्काभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्