उद्धार उडान तत्काल गर्ने मन्त्रिपरिषद्को निर्णय,बेखर्चीलाई पनि ल्याइने



काठमाडौं,भदौ ५ । विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दुई दिनअघि गरेको उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।

अब स्वदेश फर्कने नेपालीले पिसिआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाडौं उत्रिसकेपछि होटेल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । होटेलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।

‘अब तत्काल उद्धार उडानहरू हुन्छन् । सम्बन्धित देशले पठाएको सिफारिसका आधारमा उडान हुन्छन्, काठमाडौंबाहिर जान पहिले जस्तो सहज नभएको कारण उडान संख्या सीमित गर्नुपर्ने हुन सक्छ,’ मन्त्री भट्टराईले भने, ‘सरकारको निर्णयअनुसार काठमाडौंमा आउनेले सात दिनसम्म होटेलमा क्वारेन्टाइनमा बस्नुपर्छ । होटेल बुक गरेको कागज भएकाहरूलाई मात्रै ल्याउने व्यवस्था गरिनेछ ।’

पिसिआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने मन्त्री भट्टराईले बताए । स्वदेश ल्याइएका नेपालीलाई राख्ने होटेलको लिस्ट र मूल्यसूची जिल्लास्थित सिसिएमसीले तोक्ने उनले बताए । काठमाडौंमा सरकारले तत्काल क्वारेन्टाइन बनाउने र जिल्लास्थित सिसिएमसीले पनि त्यसको व्यवस्थापन गर्ने मन्त्री भट्टराईले बताए ।

सरकारको निर्णयले विदेशबाट फर्कने कामदारलाई प्रतिव्यक्ति कम्तीमा २१ हजार आर्थिक भार थपिनेछ । होटेलमा बस्न तीनदेखि आठ हजारसम्म भाडा तोकिएको छ । यसअनुसार कामदारले होटेललाई २१ हजारदेखि ५६ हजारसम्म भाडा तिर्नुपर्नेछ । त्यस्तै भारतबाट विभिन्न नाका हुँदै आउने नेपालीले पनि अनिवार्य रूपमा सात दिनको होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्