विदेशबाट फर्किनेका लागि क्वारेन्टाइन बस्ने होटलको मूल्य सार्वजनिक



काठमाडौं भदौ ५ । सरकारले विदेशबाट उद्धार भएर नेपाल आएपछि क्वारेन्टाइनमा बस्नका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र शुल्क सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसीले भदौ २ गते कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा पर्यटन विभागले क्वारेन्टाइन प्रयोजनका लागि होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो। तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको प्रशासनले जनाएको छ ।

पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रुपमा रूपमा प्रयोग गरिने छ।

विभागले क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ। पाँच तारे होटलमा एकल ९ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति ६ हजार तोकिएको छ।

यस्तै चारतारे होटलमा एकल ८ ठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति ५ हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको ६ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति ५ हजार, दुई तारेमा एकल ५ हजार र दुई जना भएमा प्रतिव्यक्ति ५ हजार ५००, एकतारेमा एकल ४ हजार र दुई जना भएमा प्रतिव्यक्ति २ हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल २ हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति १ हजार ८०० शुल्क तोकिएको छ।

पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ। पर्यटकस्तरको होटलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ।

तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ। सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्