निषेधाज्ञाको दोस्रो दिन : सुनसान काठमाडौं, दुई सय १२ सवारी साधन होल्ड



काठमाडौं भदौ ५ । निषेधाज्ञाको दोस्रो दिन शुक्रवार पनि काठमाण्डौ उपत्यका सुनसान छ ।

तीज पर्वको कारण धेरै भिडभाड हुने शिवालय लगायतका ठाउँ समेत सुनसान बनेका छन् भने सडकमा पनि अत्यावश्यकका केही बाहेक अरु गाडी चलेका छैनन् । दैनिक उपभोग्य सामानको किनबेच हुने किराना, फलफुल तरकारी तथा मासु पसल, डेरी लगायतका केही व्यवसाय खुलेको भए पनि मानिसको आवातजावात निकै कम रहेको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानै अत्यावश्यक काम बाहेक चलाइएका दुई सय १२ वटा सवारी साधनलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ । होल्ड गरिएका सवारी साधनमा एक सय ७७ मोटरसाइकल तथा स्कुटर र ३५ वटा चारपाङ्ग्रे गाडी रहेको ट्राफिक प्रहरी प्रवक्ता एसपी बामदेव गौतमले जानकारी दिए ।

यसैबीच अहिलेसम्म विभिन्न ४३ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना सङ्क्रमण धेरै भएका ठाउँमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले कतै निश्चित क्षेत्र तथा कतै पुरै जिल्लामा निशेधाज्ञा जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्