नुवाकोटमा २ सहित वाग्मती प्रदेशभर २५० संक्रमित थपिए (विवरण सहित)



नुवाकोट,भदौ ५। बितेको २४ घण्टामा नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार संक्रमण पुष्टि हुनेमा विदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै आएकी ३८ वर्षिया महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । ती महिलाको काठमाण्डौस्थित टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना  पोजेटिभ देखिएको हो। यता स्वास्थ्य मन्त्रालयले भने नुवाकोटमा दुई जनामा संक्रमण पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार नुवाकोटमा अर्का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको तथ्यांक प्रस्तुत गरेको हो । तर जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले यसबारे अनभिज्ञता जनाएको छ। यससंगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

त्यस्तै रसुवामा शुक्रबार एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वाग्मती प्रदेश अन्तर्गत शुक्रबार काठमाडौंमा ५८ महिला ८४ पुरुष गरी १४२,चितवनमा ११ महिला १२ पुरुष गरी २३ जना,दोलखा र धादिङमा १/१ पुरुष,भक्तपुरमा ५ महिला १० पुरुष गरी १५ जना,मकवानपुरमा १० महिला र २२ पुरुष गरी ३२ जना,ललितपुरमा १३ महिला र १२ पुरुष गरी २५ जना र सिन्धुलीमा ८ जना पुरुषसहित प्रदेशभर २५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार वाग्मती प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १ हजार १ सय ६२ रहेका छन् भने प्रदेशभर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ सय ३४ रहेको छ।

त्यस्तै वाग्मती प्रदेशमा आईसीयुमा उपचाररतको संख्या ५२ जना,भेन्टिलेटरमा उपचाररत १५ जना रहेका छन् । वाग्मती प्रदेशमा आईसीयु बेड संख्या ६ सय ३० रहेको छ भने भेन्टेलेटर संख्या ३ सय ६१ रहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालयको विवरण

प्रतिक्रिया दिनुहोस्