पञ्‍चकन्या गाउँपालिकाले गर्‍यो गुर्जे हेल्थ डेस्कको अनुगमन



साझापथ संवाददाता

नुवाकोट, भदौ ५ । पञ्चकन्या गाउँपालिकाले गुर्जे हेल्थ डेस्कको अनुगमन गरेको छ। पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमण वृद्धिसंगै नुवाकोट- काठमाडौं आवातजावतको छोटो दुरीको मार्गको रुपमा लिइने छहरे-टोखाको शिवपुरी गाउँपालिका- ६ स्थित गुर्जेमा राखिएको स्वास्थ्य परीक्षण केन्द्रको पञ्चकन्या गाउँपालिकाले अनुगमन गरेको हो। शुक्रबार पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश),प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी,पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछाने,वडा नम्बर २ का अध्यक्ष ध्रुव मिश्र लगायतको संयुक्त टोलीले परीक्षण केन्द्रको अनुगमन गरेको हो।

अनुगमनका क्रममा पञ्चकन्या गाउँपालिकाले परीक्षण केन्द्रलाई स्वास्थ्य सामाग्री समेत प्रदान गरेको छ। गाउँपालिकाले गुर्जे स्वास्थ्य केन्द्रका प्रमुख अहेब कल्याण पाण्डे र थानापति स्वास्थ्य केन्द्रका अहेब उद्धब कार्कीको रोहवरमा आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको हो। प्रदान गरिएको स्वास्थ्य सामग्रीमा २०५ थान मास्क,२ थान पिपिई,५ लिटर स्यानिटाईजर रहेको छ।

स्वास्थ्य सामग्री प्रदान गर्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ

स्वास्थ्य सामाग्री प्रदान गर्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश )ले यो कठिन परिस्थितिमा अनवरत खटिएका स्वास्थ्यकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। यस घडीमा आफ्नो ज्यानको प्रवाह नगरी खटिने स्वास्थ्यकर्मीको थप तलब भत्ताको ब्यवस्थापन समेत गाउँपालिकाले गर्ने वचन दिनुभयो।

शिवपुरीस्थित गुर्जेमा रहेको यस स्वास्थ्य परीक्षण केन्द्रले कोरोना महामारीको समयमा सजगता अपनाउदै शिवपुरी,पञ्चकन्या,लिखु,तादी,दुप्चेश्वर लगायत जिल्लाको पुर्वी क्षेत्रका स्थानीयको स्वास्थ्य परीक्षण गर्दै आएको छ।

अनुगमनका क्रममा स्वास्थ्यकर्मी तथा गाउँपालिकाका पदाधिकारी

परीक्षण केन्द्र र प्रहरी प्रशासनले सजगता अपनाए पनि पछिल्लो दिन यता गुरुङ गाउँदेखि भञ्ज्याङ् छिचोल्दै पुरानो चोरबाटो हुँदै स्थानीयहरु ओहोरदोहोर गर्ने गरेको गुनासो बाहिरिएको छ। यस समस्या समाधानका लागि प्रहरी प्रशासनले सुरक्षा क्षेत्र तत्काल बढाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सुरक्षा र सजगताका बीच पनि नुवाकोटमा शुक्रबारसम्म ७५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्