पर्सामा अर्का संक्रमितको मृत्यु, चितवनका मृतकमा पनि कोरोना पुष्टि



पर्सा भदौ ६ । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा.निरजकुमार सिंहले जानकारी दिए । ती मृतक मुटु, दम र उच्च रक्तचापका बिरामी थिए । शुक्रबार पर्सामा दुई संक्रमितको ज्यान गएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेकामा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

यस्तै चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन ।
भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्