टोखामा १७ शय्याको आइसोलेसन स्थापना



टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन

काठमाडौं,भदौ ६ । कोरोना भाइरसको संक्रमण वृद्धिसंगै टोखा नगरपालिकाले भाइरस नियन्त्रण तथा रोकथामका साथै उपचारार्थ १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरेको छ । शनिबार नगरका नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टरको उद्घाटन गरेका हुन ।

आइसोलेशन सेन्टरको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले पछिल्लो दिनयता नगर क्षेत्रमा कोरोना संक्रमणले गति लिएको बताए। संक्रमणले जतिसुकै बेला भयावह रुप लिन सक्ने भन्दै सबै आआफ्नो ठाउँमा सजगता अपनाउन आग्रह गरेका छन् ।

नगर क्षेत्रमा हालसम्म ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २९ जना निको भएर घर फर्केका र ६३ जनाको उपचार भइरहेको टोखा नगरस्थित स्वास्थ्य शाखाले जनाएको छ।नगरपालिकाले नगर क्षेत्रमा बिरामीको चाप हेरेर आइसोलेसन कक्ष बढाउदै लैजाने बताइएको छ ।

झोरमा नियमित माइकिङ र अनुगमन

शनिबार वडा कार्यालयको सक्रियतामा सचेतनाका लागि माइकिङ गर्दै

टोखा नगरपालिका १ झोरमा नियमित अनुगमनलाई जोड दिइएको छ। वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीको सक्रियतामा नियमित अनुगमनलाई अगाडि बढाइएको हो। निषेधाज्ञाको समयमा घरैमा बस्न,चोक तथा पसलमा भिडभाड नगर्न,अत्यावश्यक पसल बाहेकका पसल बन्द गर्न,नियमित साबुनपानी तथा स्याइटाइजरको प्रयोग गर्न वडा कार्यालयले माइकिङ मार्फत स्थानीयलाई सूचित गरेको छ।

कतिपय स्थानमा निषेधाज्ञाको समयमा समेत पसल खुलेको गुनासो बढ्दै गरेकाले वडा कार्यालयले नियमित प्रहरी प्रशासनका साथमा अनुगमनलाई तिव्रता दिएको हो ।

झोरको भनिएका संक्रमित अन्यत्रको

बिहीबार पुष्टि भएको टोखा नगरपालिका १ झोरका भनिएको एक संक्रमित झोरको नभएको खुलासा भएको छ। साझापथसंग ती संक्रमितले आफू छरछिमेकको अपहेलनाबाट बच्न वडा नम्बर १ झोर ठेगाना लेखेको बताएका छ्न।

पछिल्लो समय आइसोलेसनमा उपचाररत ती ब्यक्तिको परिवारको परिक्षण नजिता भने नेगेटिभ आएको बताइएको छ।

टोखा नगर स्वास्थ्य शाखाले भने यसको औपचारिक पुष्टि गरेको छैन।

प्रतिक्रिया दिनुहोस्