राजमार्गमा रोकिएका ४२३ सवारीसाधन काठमाडौं प्रवेश



धादिङ,भदौ ७ । पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरू राजधानी प्रवेश गरेका छन् । कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४ सय २३ मालवाहक सवारीहरूलाई प्रहरीले शनिबार राति प्रवेश गराएको हो ।

गत बुधबार रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण काठमाडौँ सीमानादेखि पृथ्वीराजमार्गमा ट्रकको लाइन लागेको थियो । सरकारले खाद्यान्न, तरकारी, दूध र एम्बुलेन्सबाहेकलाई अत्यावश्यक ढुवानी नमानेपछि अन्य सामान बोकेका साधन उपत्यका प्रवेश गर्न पाएका थिएनन् । उपत्यकामा भदौ १० गतेसम्म कडा निषेधाज्ञा लगाइएको छ ।

नौबिसे–नागढुङ्गाअन्तर्गत त्रिभुवन राजपथमा ४२३ वटा ट्रक, लहरी र कन्टेनर पार्किङ गरेर बसेका थिए । निषेधाज्ञा जारी गरेको आफूहरूले पत्तै नपाउँदा बाटैमा अलपत्र परेको ट्रक चालक सुशील सुनुवार बताउनुहुन्छ । अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडा, सिमेन्ट, मार्बल, पाइपलगायतका ढुवानीका सवारीलाई रोकिएपछि अलपत्र परेका थिए । राजधानी प्रवेश नपाउँदा खान, बस्नलगायत दैनिक जीवनयापनमा कठिनाइ हुन थालेपछि प्रेवशको लागि वातावरण निर्माण गरिएको टाफिक प्रहरी धादिङ प्रमुख नेत्रप्रकाश भट्टले जानकारी दिए।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्