संयम भएर महामारीको सामना गर्न कांग्रेसको अपिल



काठमाडौं भदौ ७ ।

नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले संयम, एकता र दृढताका साथ यसको सामना गर्न सबैमा अपिल गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु सबै राजनीतिक दल एवम् संघसंस्थाहरुको साझा कर्तव्य भएको औंल्याउँदै आपसी एकता र विश्वासका साथ लड्न आग्रह गरेका छन्।

कोरोना रोकथामका लागि भन्दै देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहँदा जनजीवन कष्टकर बनेको उल्लेख गरेका छन्। यस महामारीविरुद्ध लड्न आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावनाका साथ थप क्रियाशिल रहन कांग्रेसका नेताकार्यकर्ता सँगै सबै दल, संघसंस्थामा आबद्धलाई देउवाले आग्रह गरेका छन्।

प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेकोमा देउवाले हृदयदेखि नै प्रशंसा गरेका छन्।

अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पु¥याउन उनले सरकारलाई आग्रहसमेत गरेका छन्।

आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको उल्लेख गर्दै विज्ञप्तिमा आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा भएको औँल्याइएको छ।

लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न सरकारलाई अपिलसमेत गरिएको छ। पीसिआर परीक्षण ७७ जिल्लामै गर्नेगरी अविलम्ब क्षमता बिस्तार गरेर समुदायस्तरमा परीक्षण व्यापक रुपले पुर्याउन विज्ञप्तिमा माग गरिएको छ।

कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न तथा खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गरिएको छ।

विदेशमा अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्धार गर्न नेपाली कांग्रेसले शुरुआतदेखि नै सरकारलाई सचेत गराउँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडामाथि पीडा थपिएको औँल्याइएको छ।

विदेशमा रोजगार गुमाएर बेखर्चीसमेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्धार गर्न माग पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्