दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट ४ लाख सहयोग



तनहुँ भदौ ७ ।

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार दिवंगत बलराम बानियाँको परिवारलाई अमेरिकाबाट प्राप्त ४ लाख ३१ हजार ९५१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । बानियाँको १३ औं दिनको पुण्यतिथिको अवसरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

नेपाल–अमेरिका पत्रकार सङ्घले पठाएको उक्त रकम आइतबार नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले स्व। बानियाँका छोरी सुष्मिता बानियाँलाई हस्तान्तरण गरे । स्व। बानियाँका एक छोरा र एक छोरीको शिक्षादीक्षाका लागि पत्रकार महासङ्घको पहलमा उक्त रकम अमेरिकाका पत्रकारले पठाएको आचार्यले बताए ।

पत्रकार महासङ्घका अध्यक्ष आचार्यले बालबालिकाको शिक्षादीक्षाका लागि नेपाल पत्रकार महासङ्घले पनि पहल गर्ने सो अवसरमा प्रतिबद्धता जनाए । साउन २६ गतेदेखि बेपत्ता भएका पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् आयोजनामा २८ गते भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्