नेपाल-भारतबीच विवादित लिपुलेक क्षेत्रमा चीनले सैन्य गतिविधि बढायो



काठमाडौं भदौ ७ ।

नेपाल र भारतबीच सीमा विवाद चुलिरहेको बेला लिपुलेक क्षेत्रमा चीनले आफ्नो सेना तैनाथ गर्ने तयारी गरेको छ ।

लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीका साथ आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई पुष्टि गरेको बताइएको छ । लिपुलेकको विषयमा भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेक नजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको देखिएको जनाइएको छ । यस्तै क्षेप्यास्त्र तैनाथका लागि आवश्यक संरचना निर्माणकार्यको तयारी समेत भइरहेको देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस इलाकामा चीनको पिपुल्स लिबरेसन आर्मी पीएलएले गतिविधि सञ्चालन गरिरहेको थाहा भएको डेट्रेस्फाले दाबी गरेको छ । लिपुलेकमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको बताइएको छ ।

चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेकनजिकै तैनाथ गरेको जनाएको छ । भारतले लिपुलेक नाका हुँदै मानसरोवर यात्राका लागि नयाँ रुट बनाउने योजना गरेको छ ।

भारतले बनाएको ८० किलोमिटर लामो सडकलाई लिएर नेपालले आपत्ति जनाउँदै उक्त भूमिमाथि नेपालले सम्प्रभुता दाबी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्