टोखा नगरले अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने



काठमाडौं भदौ ८ । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरीका आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराइने नगर प्रवक्ता बस्यालले बताए ।

यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक र स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलनमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्