नवलपरासीको सुनवलमा वडाध्यक्षसहित २ मा कोरोना संक्रमण



नवलपरासी,भदौ ८ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा वडाध्यक्ष सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ३२ गते समुदाय स्तरमा १ सय ५ जनाको स्वाव सङ्कलन गरि कोभिड परिक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको मध्ये आइतबार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको र बांकी १४ जना मध्ये सोमवार २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराए । संक्रमित १२ वडाका वडाध्यक्ष यमलाल पाण्डे हुन् भने ११ वडाका १७ वर्षिय पुरुष हुन् । संक्रमित वडाध्यक्ष कोरोनाको जोखिम बढेसङ्गै नगरपालिकाले समुदाय स्तरमा बनाएको क्वारेन्टाइन व्यवस्थापन कार्यमा सक्रिय भएर लागेका थिए । क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय हुँदाहुँदै सोहि ठाउँबाटै उनिमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ । साउन चौथो साता देखी कोरोना सङ्ग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि साउन २९ गतेबाट उनि होम आइसुलेट भएर बसेका थिए । आइसुलेट बसेपछि भने बिस्तारै उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

त्यस्तै वडा न ११ का कोरोना संक्रमित युवा गत साउन १४ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । न्यौपानेका अनुसार कोरोना संक्रमित वडाध्यक्ष सहित दुबैजनालाई नगरपालिकाले सुनवल १ मा बनाएको आइसोलेसन सेन्टरमा राखिने भएको छ । वडाध्यक्ष पाण्डेले पनि आफुहरुले नै निर्माण गरेको आइसोलेसन सेन्टरमा बस्ने बताएका छन् ।

आइसोलेसन सेन्टरमा नै बसेपछि नगरबासिको पनि आइसोलेसन सेन्टर व्यबस्थित रहेको विश्वास सहित सकारात्मक सन्देश जाने भएकाले आफु पनि सोहि सेन्टरमा नै बस्न लागेको उनले बताए ।

यस्तै सुनवल नगरपालिकाले गत भदौ ५ गते समुदाय स्तरमा गरेको कोरोना परिक्षणका लागि ५० जनाको स्वाव संङ्कलन गरि पठाइएको मध्ये सोमबार ४६ जनाको रिपोर्ट सोमबार नेगेटिभ आएको छ भने बाकी ४ जनाको रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

त्यस्तै सोमवार जिल्लाको बर्दघाट नगरपालिकामा समेत २ जना कोरोमा सक्रमित थपिएका छन् । सक्रमित वडा न १२ का ३० वर्षीय पुरुष र वडा न १३ का ३५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिए । उनका अनुसार वडा न १२ का पुरुषमा कन्ट्र्याक ट्रेसिङ मार्फत कोरोना संक्रमित पुष्टि भएको हो भने वडा न १३ का पुरुष भने केहि समय अगाडी तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यससङ्गै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १ सय ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्