काठमाडौंसहित ४ जिल्लामा सोमबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु



काठमाडौं भदौ ८ । काठमाडौं, ललितपुरसहित ४ जिल्लामा सोमबार ४ जनाको मृत्यु भएको छ । विभिन्न अस्तापलले दिएको जानकारी अनुसार ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना, काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा १ जना र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जनाको मृत्यु भएको हो ।

पाटनमा काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।

यस्तै काठमाडौंको कागेश्वरी नगरपालिका- ९ कि ४८ वर्षीया महिलाको शिक्षण अस्तापलमा उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिला्साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई त्यसै दिन कोरोना संक्रमण भएको थियो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत २२ वर्षीय युवाको सोमबार अपरान्ह ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार सिरहाको लाहान गोविन्दपुर बस्ने युवाको उपचारका क्रममा मृत्यु भएको हो । मृतक युवालाई अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको थियो । सिकिस्त भएपछि उनलाई प्रतिष्ठानकै आईसीयूमा भर्ना गरिएको थियो । भदौ ७ गते उनको पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि सोही दिन कोभिड १९ अस्पतालको आईसीयूमा सारेर भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्