धादिङमा भदौ १६ गतेसम्म निषेधाज्ञा जारी रहने



साझापथ संवाददाता

धादिङ,भदौ ९ । धादिङमा भदौ १६ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्र धादिङको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय धादिङले पहिलोपटक साउन २८ गतेदेखि भदौ ३ गतेसम्म निशेधाज्ञा जारी गरेको थियो । दोस्रो पटक भदौ ९ गते सम्म तोकिएको निषेधाज्ञाको अवधि सकिनै लाग्दा तेस्रो पटक थप समय लम्ब्याएको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ । एम्बुलेन्स, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी पेट्रोलियम पदार्थ बोक्ने गाडी, शवबहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी र सञ्चारकर्मी बाहेक सार्वजानिक निजी तथा मालबाहक सवारी साधन चलाउन नपाईने बताइएको छ ।

संकट व्यवस्थापन केन्द्रको बैठकले धादिङबेसीका आसपासको क्षेत्र र राजमार्ग क्षेत्रमा कडाई गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्