लाइभ अपडेट : कोरोना भाइरस

नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९
विश्वमा कोरोना भाइरस
मृत्यु
९४५,८१७
संक्रमित
३०,०७३,७७५
निको भएका
२१,८२६,६७७
अपडेटः 17 September, 2020 5:15 pm । स्रोत : coronavirus.jhu.edu

पहिलो तामाङ मन्त्री तिलकबहादुर नेगीसँग भेट मेरो जीवनलाई संघर्ष गर्न थप प्रेरणा



मोहन गोले तामाङ

लामो समयदेखि भेट गर्ने इच्छा हुँदाहुँदै त्यो संयोग जुरिरहेको थिएन । व्यवसायी तथा समाजसेवी भाइ दावादोर्जे लामाले २०७७ भदौ ३० गते मंगलबारको दिन त्यो संयोग जुराईदियो । ताम्सालिङ नलेज सेन्टरले उहाँको जिवनीमा आधारित पुस्तक प्रकाशनको लागि तयारी गर्ने क्रममा हामी बिहान ८:०० बजे नेगीको निवास चन्द्रगिरी नगरपालिका वडा नं. ७ स्थित थानकोट पुग्यौं । तीनआना जग्गामा बनेको एकतले घर जसको बाटोपट्टि रहेको झ्याल आधा उघ्रिएको थियो । त्यही झ्यालमा एक ज्येष्ठ ब्यक्तित्व सधैं कोही मान्छे मसँग भेट्न आउँछन् र मनको कुरा खुलेर पोखौला भनेर आँखा बिच्छ्याइरहेका हुन्छन् । सायद छोराछोरीले हामी आउने कुरा उहाँलाई पहिले नै सुनाएको हुनसक्छ, त्यसदिन पनि उहाँले हेरिरहनु भएको बाटैबाट हामीले देख्यौं र फ्याफुल्ला भनेपछि विस्तारै हात उठाउनु भयो ।

कोठाभित्र पस्नासाथ देखियो, एकजना सुत्न मिल्ने बेड, भित्ता र भूँइमा असरल्ल छरिएका प्रमाणपत्र र फोटोहरु, कोठाको एकातर्फ लाखाङ र बौद्ध पूजाको सामाग्री, त्यसको नजिक रहेको दराजको दायाँबायाँ तीन दर्जनभन्दा बढी विभिन्न साईजका लौरोहरु । मैले भित्र पस्नासाथ खस भाषामा आफ्नो नाम र ठेगाना सहित परिचय दिएँ । सुरुमै उहाँले तामाङले त तामाङ भाषामा पो बोल्नुपर्छ त भनेर एक झड्का दिँदा त्यो उमेरको मानिसमा देखिएको भाषा मोहबाट म हल्का तरंगित भएँ । हँसिलो मुहार, एउटा दाँतमा सुन टल्केको, कोही मान्छे देख्ने बित्तिकै बोलिहाल्ने स्वभावका धनी । कुराकानीको क्रममा मैले हातमा छारम्हेन्दो पत्रिका थमाएँ, चश्मा नलगाईकन केही हरफ सरसर्ती पढ्नुभयो । ९० वर्षको उमेरमा पनि आँखा राम्रोसँग देख्नुहुने तर कानको श्रवण शक्ति र स्मरण शक्ति क्षीण हुँदै गएको अवस्थामा उहाँलाई भेट्न पुगेछु । उहाँसँगको भेट अलि ढिलो पो भएछ जस्तो लागेर मनमा पश्चाताप पनि भयो । दुईघण्टा बस्दा लगभग तीन पटक मेरो थर सोध्नुभयो । बोल्दा कान छेउमै गएर बोल्नुपर्ने । सुन्नमा सहजता होस् भन्नाको लागि छोरी ससीले इयरफोन किनेर दिएपनि त्यो लगाउनु मान्नु भएन रे । मैले पनि सजिलोको लागि इयरफोन लगाउनुहोस् भनेर कर गर्दा मैले सुन्ने जति सुनिसके, खाने जति खाइसके, हेर्ने जति हेरिसके भनेर बडो प्राकृतिक तर्क गर्नुभयो ।

ब्राम्हाणवादी राज्यसत्ताले तामाङमाथि गरेको विभेद, शोषण र दमनप्रति उहाँको त्यो उमेरमा पनि तीब्र आक्रोश देखियो । भन्छन्, मेरो समयमा तामाङहरु दास सरहको जीवन बाँचिरहेका थिए । एउटै बाहुनले सयौ तामाङलाई गोरु जोताएर खान्थ्यो । उहाँ थप्नुहुन्छ–मेरो यो जुनी त अब गयो गयो तर अर्को जुनी पायो भने म यिनीहरुलाई छाड्दिन । हात मुठि पार्दै त्यो उमेरले गरेको प्रतिवद्धताबाट म चर्को भाषण गर्ने अभियन्ताले पनि लज्जित महसुस गरेँ । उहाँको बुझाईमा गाउँदेखि सिंहदरबारसम्मका ब्राम्हाणले तामाङमाथि एकैखालको शोषण गरे । गाउँको शंकर सुवेदी नामको बाहुनले हलो जोत्न नमानेको निहुँमा एकजना दु:खी तामाङ युवालाई कुटेपछि आफूले पनि सुवेदी बाहुनलाई २ चड्कन हानेर गाउँबाट लखेटेको रमाइलो प्रसंग सुनाउँदा नेगी खुशी देखिन्थे तर सिंहदरबारका शासकलाई चड्कन हानेर लखेट्न नसकेकोमा दु:खी बनेका रहेछन् । त्यसैले भन्छन्, अर्को जुनी लिएर भएपनि यीनलाई ठेगान लगाउँछु ।

२०३८ सालमा तामाङ समुदायबाट पहिलोपटक मन्त्री बन्ने बेलासम्म तामाङलाई पीपाभन्दा माथिको जागीर दिँदैनथ्यो । २००७ सालको परिवर्तनपछि डा. के. आई. सिंहको समूहमा लागेका नेगीलाई २०१४ सालमा मन्त्री बनाउन सिंहले प्रस्ताव गरेको भएपनि उसका आसेपासेहरुले तामाङलाई मन्त्री बनाउनु हुँदैन भनेर नमान्दा आफू त्यसबेला मन्त्री नबनेको बताए । उहाँ मन्त्री भएपछि पीपालाई हटाएर तामाङलाई धेरै ठाउँमा जागीर लगाएको र नुवाकोटको एकजना महिलालाई सचिव समेत बनाउन सफल भएकोमा खुशी ब्यक्त गरे ।

थानकोटको तीनआना जग्गामा बनेको एकतले घरमा बसिरहेका नेगीलाई मन्त्री बनेर पनि घर बनाउन नसकेको भनेर धेरैले गिज्याए । उहाँले ठाडै भनेछन्, तिमीहरुले पो घूँस खान्छ र घर बनाउँछ तामाङले घूँस खाँदैन अनि कहाँबाट घर बनाउँछ ? उनले मसँगको अन्तरंग कुराकानीको क्रममा पनि घूँस खाने कामप्रति घृणा ब्यक्त गरे । कति जनाले लिनैपर्छ भनेर घरमा दिन आउँदा त्यस्तो रकम आफूले गरीबहरुलाई बाँडिदिएको बताए ।

नेगी निवासदेखि माथि चन्द्रगिरी डाँडा छ । उमेरमा उहाँ डाँडादेखि फेदीसम्म हिँडेरै दिनमा दुईपटक जति आवातजावात गर्नुहुन्थ्यो रे । त्यस ठाउँलाई अहिले पर्यटकीय स्थलको रुपमा विकास गरेको छ । मानिसहरु आवतजावत गर्न सहजताको लागि केवुलकार सञ्चालमा ल्याइएको छ । डाँडामा रहेको पूजाथानलाई उहाँले नै पहिलोपटक मञ्जुश्री महादेव नामाकरण गरेको बताए तर अहिले भालेश्वर महादेव नामाकरण गरेकोमा गम्भीर आपत्ती जनाए ।

करिब एक, डेड घण्टाको बसाइँमा तामाङ समुदायका एक युगका एक ऐतिहासिक युग पुरुष तिलकबहादुर नेगीले मसँग यस्तै यस्तै जीवन भोगाईका तीतो तर सत्य अनुभवहरु सेयरिङ गर्नुभयो । जसले मेरो जीवनलाई संघर्ष गर्न थप प्रेरणा दिएको छ । यसरी छोटो कुराकानीलाई बिट मार्दै हामी फेरि भेट्ने बाचाका साथ उहाँसँग बिदा भयौं ।

फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्