काठमाडौं महानगरपालिकाद्वारा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता



काठमाडौं असोज २८ ।

कोरोना भाइरस कोभिड –१९ संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता दिएको छ ।

महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाब संकलन गरिरहेको हो । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाब संकलन गरिरहेका छन् ।

एक स्थानमा कम्तिमा २ सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब संकलन भइरहेको वडा नम्बर १७ वडासचिव राजेश श्रेष्ठले बताए । परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उनले बताए ।

सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिसटेन्ट तथा स्वाब कलेक्सन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाब संकलनको काम गरिहेको बताए । सरकारी प्रोटोकल अनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपय व्यक्तिहरुले दोहोर्याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उनले बताए ।

अहिले देशभरी नै कोरोना संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं लगायतका उपत्यकाका तीन वटै जिल्लाहरुमा संक्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्