थप खसीबोका किन्ने खाद्यको निर्णय



काठमाडौं कात्तिक ४ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप खसीबोका किन्ने निर्णय गरेको छ ।

कम्पनीको मंगलबार बसेको बैठकले थप एक हजार खसीबोका किन्ने निर्णय गरेको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । सोमबारदेखि बिक्री सुरु गर्दा दोस्रो दिनसम्म ७ सय वटा खसी बोका बिक्री भएको कम्पनीले जनाएको छ । सोमबार ५४० र मंगलबार १६० वटा खसीबोका बिक्री भएको सुवेदीले बताइन् ।

पहिलो लटमा ल्याउने निर्णय भएको एक हजारमध्ये मंगलबार बेलुकी सम्म बाँकी खसी बोका आइपुग्नेछ । निजी क्षेत्रका व्यापारीले भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका प्रतिकिलो एक सय रुपैयाँ सस्तोमा बिक्री गरेको छ ।

प्रतिकिलो ५६० रुपैयाँ मूल्य तोकेर त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खाद्यले ५५० रुपैयाँमा खसीबोका बिक्री गरिरहेको छ । यसवर्ष कम्पनीले झण्डै ६ करोड रुपैयाँको तीन हजार खसी बोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको थियो ।

तर च्याङ्ग्राको भाउ अचाक्ली महँगो भएको तथा कोभिड–१९ महामारीका कारण बिक्री कम हुन सक्ने आँकलनमा सुरुमा एक हजार मात्रै खसी बोका खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्