गण्डकी प्रदेश: कोरोना संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु



पोखरा, कात्तिक ९ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक चारैजना पोखरा महानगरपालिका निवासी हुन् ।

पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका ७ बजेर ४५ मिनेटमा चरक मेमोरियल अस्पतालमा निधन भएको थियो। कोभिड–१९ संक्रमित उनलाई निमोनियाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ । असोज ३० गते उपचारका लागि भर्ना गरिएका उनमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय पुरुषको पनि शनिबार बिहान गते ९ः३० मा गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड–१९ सहित निमोनियाको समस्या रहेको उनमा कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अर्का मृतक पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय पुरुष हुन्। उनको शनिबार दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारको क्रममा निधन भएको हो ।

कोभिड–१९ सहित निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या भएका उनलाई कार्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । निर्देशनालयले दोस्रो विज्ञप्ति जारी गर्दै थप एकको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । अर्का मृतक पनि पोखराकै हुन् ।

पोखरा महानगरपालिका–१५ का ५२ वर्षीय महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो । उनमा शनिबारमात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनको शव ब्यवस्थापनको तयारी भरहेको छ भने अन्य तीन जनाको शव व्यवस्थापन भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्