कोरोनाको दोस्रो लहर आएपछि स्पेनमा संकटकाल, देशैभरी रात्रीकालीन कर्फ्यू लागू



एजेन्सी कात्तिक १० ।

स्पेनमा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ ।

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागू गर्ने घोषणा गरेका हुन् । यो नियम आइतबारदेखि लागू भएको हो ।

घोषित आपतकाल अनुसार स्थानीय अधिकारीहरुले आन्तरिक भ्रमणमा प्रतिबन्ध लगाउन पाउने छन ्। नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भए पनि ६ महिनासम्म लागु गराउनका लागि संसदसँग आग्रह गर्ने प्रधानमन्त्रीले बताएका छन् । महामारीको पहिलो चरणमा स्पेन नराम्रोसँग प्रभावित भएको थियो । अहिले फेरि स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्